नेपाली काँग्रेसको भातृ संगठनभित्रको विवाद त्रिचन्द्र कलेजमा पनि देखिएको छ । त्रिचन्द्रमा नेविसंघका दुई गुटबीच खुकुरी हानाहान हुँदा तीन विद्यार्थी नेता घाइते भएका छन् । घाइते तीन जनाकै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट नेता कौशल दाहाल, अजय गजुरेल र गोरख रदुले घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न अनिल लामा, सहदेव नेपाल र सौरभ श्रेष्ठलाई खुकुरीसहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।
आक्रमणपछि भाग्दै गर्दा लामासहितका तीन आक्रमणकारीलाई प्रहरीले कमलादी गणेश मन्दिर नजिकैबाट पक्राउ गरेको हो । आक्रमण गर्न उनीहरुले लामाको समूहलाई मोटरसाइकल लगायत सुविधा समेत दिइएको अनुसन्धानमा खुलेको छ ।
त्रिचन्द्रमा नेविसंघका दुई समूहबीच लामो समयदेखि विवाद छ । एउटा समूहको नेतृत्व कौशल दाहालले गरेका छन् भने अर्को समूहको शान सिवाकोटीले गरेका छन् । दाहाल नेविसंघ अध्यक्ष नैनसिंह महर निकट हुन् भने सिवाकोटी महासचिव कुन्दन काफ्ले निकट । यी दुई समूहबीच आधिकारिक इकाइ कमिटीको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ ।
प्रहरीका अनुसार विवादको क्रममा दाहाल पक्षले केही ‘केटा’ बोलाएर सिवाकोटी पक्षलाई बुधबार आक्रमण गर्ने योजना बनाएका थिए । सोही अनुसार अनिल लामा लगायत गुन्डागर्दीमा संलग्न एक समूह खुकुरी बोकेर कलेज पुगेको थियो । उनीहरुले सिवाकोटी पक्षका नेता चिनेका थिएनन् । हुलमुलमा लामाले सिवाकोटी पक्षका नेता ठानेर दाहालमाथि नै खुकुरी हानेका हुन् ।
काफ्ले पक्षले शिवाकोटीलाई इकाई अध्यक्ष दाबी गर्दै आएको छ । तर, अध्यक्ष महरले तीन महिनाअघि कौशल दाहाललाई अध्यक्ष बनाएका थिए । तर, शिवाकोटी पक्षले उनलाई नेविसंघको इकाई कार्यालयमा प्रबेश गर्न दिएको छैन । त्रिचन्द्र नेविसंघको बाहूल्यता रहेको कलेजमध्येमा पर्छ ।
केही समयअघि नेविसंघले सुन्दरीजलमा एकै ठाउँ दुई वटा मञ्च बनाएर आफ्नो –आफ्नो गुटको कार्यक्रम आयोजना गरेको थियो । तर, केन्द्रीय नेताहरु अनुपस्थित भएपछि कार्यक्रम रोकिएको थियो । नेविसंघभित्र केन्द्रदेखि तल्लो तहसम्म गुटबन्दी व्याप्त छ ।