संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका छन् ।
हिजोसम्म मन्त्रीमा पनि श्रेष्ठकै नाम चर्चा भएको थियो । श्रेष्ठले आफू निकटका नेताहरुसँग भनेका छन्,‘उपेन्द्रजीले मलाई धोका दिए, हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो।’ उपेन्द्रको यो कदमसँगै पार्टीभित्र राम्रो सन्देश नगएको पनि श्रेष्ठले बताएका छन् ।
आज चौथो पटक विस्तार गरिएको मन्त्रिपरिषदमा उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ ।
गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।