कांग्रेसका सांसद जिपछिरिङ लामाले बसको सिन्डिकेट तोडे जस्तो निर्माण व्यवसायीलाई पक्राउ गर्ने धम्की नदिन सरकारलाई चेतावनी दिएका छन्। संसद बैठकमा बजेटमाथिको छलफलकै क्रममा सांसद लामाले निर्माण व्यवसायीलाई कारबाही गर्ने विषयमा सदनलाई तत्काल जवाफ दिन समेत माग गरे।
गृह मन्त्रालयले देशभरका ठेकेदारको सूची तयार गरेको प्रति आक्रोशित हुदै लामाले ठेकेदारहरु ठग नभएकाले उनीहरुलाई त्यस्तो व्यवहार नगर्न आग्रह गरे। मन्त्रलायले ठेक्का लिएर समयमा निर्माण सम्पन्न नगर्नेहरुको सूची जिल्ला–जिल्लाबाट संकलन गरिरहेको समयमा प्रमुख प्रतिपक्ष दलका सांसदको यस्तो चेतावनी आएको हो। उनी निर्माण व्यवसायी पनि हुन्।
‘म निर्माण व्यवसायी हुँ’, लामा कन्सट्रक्सनका सञ्चालकसमेत रहेका लामाले संसदमा भने, ‘ठेकेदारका समस्या नबुझी अपराधी जसरी पक्राउ गर्ने धम्की दिनु राज्य आतंक हुनेछ।’
ठेकेदार कानुनले दिएको अनुमति लिएर निर्माण कार्यमा लागेका यस्तो चेतावनी नदिन उनले सुझाव दिए।
‘ठेकेदारलाई काम गर्नेलाई वनको समस्या छ, पोल सरेको छैन, गिट्टी बालुवाको समस्या छ, भुक्तानी समयमा पाँइदैन, म्याद थप हुँदैन,’ लामाले भने, ‘अनि एउटा व्यवसायीलाई छेक्छु र थुन्छु भन्दै जादाँ १२/१३ हजार व्यवसायीले भोलि आन्दोलन घोषणा गरे भने भने के हुन्छ?’
उनले यसअघि खारेज गरेको सिन्डिकेट जस्तो नभएको टिप्पणी गरे। ‘यो ट्रक व्यवसाय र बस व्यवसाय जस्तो होइन, सिन्डिकेट तोडे जस्तो होइन,’ उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु, व्यवसायी दोषी छैनन्, यो व्यवसाय धराशायी भए देशको उन्नति हुँदैन। सदनमा भनेको छु ,लेखेर राख्नुस्।’
उनले व्यवसायीलाई कारबाही गरेर कसरी ठूला राजमार्ग बनाउने भनेर सरकारलाई सदनमा प्रश्न गरे। ‘के यो देशका ठेकेदारलाई थुनेर विदेशीबाट ल्याएर बनाउने हो,’ लामाले भने ,‘स्वेदशी सिध्याउने विदेशी ब्युँताउने नीति हो मलाई भन्नु केही छैन।’