ओलीले मोदीको स्वागत गर्न राष्ट्रबाद विर्सिए : सीपी गजुरेल

ओलीले मोदीको स्वागत गर्न राष्ट्रबाद विर्सिए : सीपी गजुरेल
राजनीति

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले सरकार सामाजिक फासीवाद ल्याउन उद्दत भएको आरोप लगाएका छन् ।

आइतवार काठमाण्डुमा आयोजित अन्तरक्रिया कार्यक्रममा गजुरेलले भने, ‘सरकार चलाउन बहुमत भए पुग्छ । दुई तिहाई पुगिसक्यो । तीन चौथाई पुर्‍याउने कसरतमा छन्, कतै अर्को निरंकुसता त आउने होइन् ? बामपन्थी सरकारको नाममा सामाजिक फासीवाद आउने त होइन भन्ने आशंका पैदा भएको छ ।’

उनले सरकारले विरोधका आवाजहरुलाई समेत दबाउन खोजेको आरोप लगाए । ‘धर्ना जुलुस पनि गर्न नपाउने र भएन भनेर अब विरोध गर्ने ठाँउ तोकिदिएका छन् । अब त्यो पुरानो वानेश्वर, गौचरणमा मात्र पर्दशन गर्न पाउने रे,’ क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्षसमेत रहेका गजुरेलले भने, ‘अब त्यहाँ गएर कराएर कसलाई सुनाउने हो ?’

उनले मजदुरहरुलाई समेत विरोध गर्नबाटसमेत वञ्चित गरिएको आरोप लगाए ।

उनले प्रमुख प्रतिपक्षले प्रतिपक्षको भूमिका निभाउन नसकेको भन्दै आफूहरु सडकको प्रतिपक्ष भएको समेत बताए । ‘काँग्रेस प्रतिपक्ष जस्तो पनि देखिएन । हामी संसदीय प्रतिपक्ष त होइनौँ । तर, सडकका प्रतिपक्ष हौँ ।’

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सुरक्षा निकायमाथि अविस्वास गरिएको समेत उनले बताए । ‘मोदी नेपाल आँउदा उनले उतैबाट कमाण्डो लिएर आए । काठमाण्डुमा अघोषित कर्फ्यु लगाइयो,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीमाथि अविस्वास गरियो । भारतमै कालो झण्डा देखेका उनले नेपालमा कालो झण्डा देख्नै नहुने जस्तो गरियो । ओलीले मोदीको स्वागत गर्न राष्ट्रबाद विर्सिए ।’

उनले मोदीको भ्रमणले ओलीको राष्ट्रवाद उदांगो भएको समेत बताए । ‘नाकाबन्दीको विरोधमा उभिएर राष्ट्रवादी नेताको नाम पाए । त्यही राष्ट्रवाद भजाएर चुनाव पनि जिते भोदी आए उनको राष्ट्रवाद खोक्रो भयो,’ नेता गजुरेलले भने, ‘मोदी जी आँउदा सबै विर्सिए । दाजुभाई जस्तो । अझ मोदीले भाइसाप के भन्दिए, आफ्नै लाग्यो होला । राजस्थानी कुर्ता र टोपीमा सजिएर उभिए । अरु बेला त दौरासुरवाल छाड्दैन थिए ।’

मोदीले जनकपुरमा नेपालको अपमान समेत गरेको आरोप लगाए। ‘ओलीजी भाइसाप हुन्रु उनी नेपालका प्रधानमन्त्री हुन्। सार्वजनिक कार्यक्रममा भाइसाप भनेर कुटनीतिक मर्यादा त तोडे नै नेपाललाई समेत हेपेर बोले,’ उनले भने।

Post Comment