मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनहरुको चेतावनी

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनहरुको चेतावनी
राजनीति

पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजको माग गदै विद्यार्थी संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार मन्त्रालयमा नेकपा निकटका दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र अखिल छैठौंले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनहरुले सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा श्रृखलाबद्ध रुपमा गरेको मूल्यवृद्धि प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विद्यार्थी संगठनहरुले गैरजिम्मेबार ढंगमा बढाइएको मूल्यबृद्धि अबिलम्ब खारेज गर्न माग गरेका छन् अन्यथा संघर्षमा उत्रन आफूहरु बाध्यहुने चेतावनी दिएका छन् ।

विद्यार्थी संगठनहरुले बहुसंख्यक जनता गरिबीको रेखामुनी रहेको हाम्रो जस्तो देशमा सरकार केबल व्यापारी मात्र बन्न नसक्ने उल्लेख गरेको छ । अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियतको माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले बेथिति अन्त्यका लागि आफू लागि पर्ने भन्दै आन्दोलनमा नउत्रन विद्यार्थी संगठनहरुलाई आग्रह गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

निगममा हुने भ्रष्टाचार र चुहावट नियन्त्रणका लागि आफूले प्रयास गर्ने मन्त्री यादवले बताए । ‘भ्रस्टाचार हटाउन मेरो एक्लो प्रयासले हुँदैन सवैले सहयोग गर्नुपर्छ ।’ मन्त्री यादवले भने ।

‘भण्डारण नभएका कारण समस्या छ ।’ आपूर्तिमन्त्री यादवले भने‘ अनुगमन गरौं मेरो आग्रह के छ भने आन्दोलन नगर्नुस्, छलफल गरु सबै मिलेर देश बनाउनुपर्छ ।’

Post Comment