‘म्याच फिक्सिङ गर्ने खेलाडी चाहिँ जेल जानुपर्ने,प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरु चाँही जेल जानु पर्दैन’

‘म्याच फिक्सिङ गर्ने खेलाडी चाहिँ जेल जानुपर्ने,प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरु चाँही जेल जानु पर्दैन’
राजनीति

आ–आफ्नो क्षेत्र र प्रदेशलाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रम र बजेट विनियोजन गरेको भन्दै सत्तापक्षकै सांसदहरुले मन्त्रीहरुको  चर्को आलोचना गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सत्तारुढ दलकै सांसदहरुले विषयगत मन्त्रीहरुको आलोचना गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद झपटबहादुर रावलले बजेट विनियोजनमा मन्त्री र नेताहरुले दुरदृष्टि राख्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले अन्यायपूर्ण बजेट विनियोजन भएको भन्दै नेता र मन्त्रीले नाकको टुप्पो भन्दा टाढा देख्न नसकेको दाबी गर्नुभयो ।

बजेट विनियोजन गर्दा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, टोल र  वडा भन्दा बाहिर गएर नेपालको मन्त्री बन्न नसकेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद मन्त्रीको क्षेत्रमा ६५ करोड ८५ लाख विनियोजन भएको छ तर ७ नम्बर प्रदेशमा जम्मा २ करोड ५ लाख रुपैयाँ मात्रै विनियोजन गर्नुभएको छ ।

तपाईँहरुलाई त्यहाँको जनताको सराप लाग्दैन ? त्यहाँका जनताले तपाईहरुलाई धिक्कार्दैनन् ? त्यहाँका जनताको पाप लाग्छ कि लाग्दैन ? तपाईँहरुले कुन आँटका साथ कुन हिम्मतका साथ यो तहको अन्याय गर्नुभयो ?’

संवैधानिक व्यवस्था विपरित बजेट विनियोजन गरिएको भन्दै रावलले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई प्रश्न गर्नुभयो, ‘तीन वटै मन्त्रालयका यी कार्यक्रमले सम्वृद्ध नेपाल र सुखी नेपाली बन्छ ? के समानतामा आधारित कार्यक्रम अघि सार्नुभएको छ ?’ मन्त्रीहरुलाई प्रश्नै प्रश्न तेर्स्याएका एका रावलले सोध्नुभयो, ‘पर्यटनमन्त्री र राज्यमन्त्री भएको ४ नम्बर क्षेत्रमा ८ सय २७ करोड  ८३ लाख भएको छ तर मेरो ७ नम्बर प्रदेशमा जम्मा २ करोड ३५ लाख विनियोजन भएको छ । तपाईहरुलाई दया लागेन अलिकति पनि विवेकले काम गरेन ? म सोध्न् चाहन्छु ।’

उहाँले राज्यमन्त्रीलाई लक्षित गर्दै भन्नुभयो, ‘कर्णलीमा ५७ वटा योजना र डोल्पामा ४४ वटा कार्यक्रम राख्दा तपाईहरुलाई अप्ठ्यारो लागेन ?’

त्यसैगरी नेकपाका अर्का सांसद मेटमणि चौधरीले म्याच फिक्सिङ्ग गर्ने खेडालीलाई जेल पठाईन्छ भने बजेटमा फिक्सिङ गर्ने मन्त्रीलाई पनि जेल पठाउनुपर्ने तर्क गर्नुभयो  ।

आवश्यकताको प्राथमिकता निर्धारण गर्नुभन्दा मन्त्री मन्त्रीको मिलेमतोमा आ आफ्नो क्षेत्रमा बढी बजेट र योजना पार्ने लाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘म्याच फिक्सिङ गर्ने खेलाडीहरुको हातमा हतकडी लाग्छ, जेल जानुपर्छ, आज मन्त्रीहरुले आफ्नो बजेट र प्रोग्राम फिक्सिङ गर्दे आफ्नो निर्वाचन क्षेत्रमा पार्ने काम गरिरहनुभएको छ ।

यस मानेमा म्याच फिक्सिङ गर्ने खेलाडीले जेल जानुपर्छ भने प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरु जेल जानु पर्छ कि पर्दैन ?’
मन्त्रीहरुको प्रोग्राम फिक्सिङले मुलुकको सम्वृद्धिको बाटोलाई अवरोध श्रृजना गर्न सक्ने भन्दै उहाँले यस्ता मन्त्रीलाई जेल पठाउनुको विकल्प नरहेको तर्क गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक असार ३ गते आइतबार बिहान ११ बजेका लागि लागि बोलाइएको छ ।

Post Comment