नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच घम्साघम्सी परेको छ । सामाजिक संजाल ट्वीटरमा खगेन्द्रले बाबुरामलाई झटारो हान्दै ट्वीट गरेपछि यस्तो अवस्था आएको हो ।
खगेन्द्रले बाबुरामले सपनामा पत्रकारलाई पूर्वविशिष्टले लिने सुविधा म लिन्न भनेको तर विपनामा प्रधानमन्त्री हुँदा आफैले प्रस्ताव गरेको सुविधा नलिन नैतिकताले दिँदैन भन्ने जवाफ दिएको भन्दै व्यंग्य गरेका थिए ।
त्यसको जवाफमा बाबुरामले ‘जेष्ठ ब्रो’ भन्दै दिएका छन् । उनले लेखेका छन्, ‘फुटपाथमा सुतिरहेको एउटा तन्नमलाई यस्तो व्यग्यवाण किन ? योत जो होचो उसको मुखमा घोचो भएन र ? मेरो प्स्ताव त आफ्नै आवास नहुनेलाई राज्यले सहुलियत भाडामा आवास उपलब्ध गराउनुपर्छ भन्ने हो । सुरक्षाकर्मीलाई मैले पहिल्यै फिर्ता गरिसकेको छु, राज्यबाट अरु कुनै सुविधा लिएको छैन ।’
त्यसो त ब्रो भनेर बाबुरामले खगेन्द्रलाई व्यग्य गरेका हुन् । खासमा ब्रो खगेन्द्रकै थेगो हो । प्रायः उनी आफ्ना ट्वीटमा ब्रो शब्द अत्याधिक प्रयोग गर्छन्, विशेषगरी कसैलाई रिप्लाई दिनु परेमा । केहीदिनअघि उनले किशोर नेपाललाई मेन्सन गर्दै ‘ब्रोलाई जन्मदिनको शुभकामना’ भनेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका बबुरामको यस्तो जवाफ आएपछि खगेन्द्र पनि चुप लागेर बसेनन् । उनले बाबुरामको सोही ट्वीटलाई मेन्सन गरेर लेखे, ‘सेठ र ठगहरुको एकाधिकार रहेको राजनीतिमा आवास नहुने तन्नमलाई पूर्वविशिष्ट भन्ने शौभाग्य नै कहाँ जुर्छ र डा. साब ? मेलै त एकजना बाबुरामले म यो सुविधा लिन्न भनिदिए अरु अरु खानका कालहरुलाई लाज लाग्थ्यो कि भनेर कुरिकुरी गर्या हु डा. साब । जसमाथि थोरै आश छ उसलाई नै यसो भनिन्छ ।’ त्यसपछि भने बाबुरामले कुनै जवाफ दिएका छैनन् ।