डा. गोविन्द केसीको शैली अधिनायकवादी : गृहमन्त्री थापा

डा. गोविन्द केसीको शैली अधिनायकवादी : गृहमन्त्री थापा
राजनीति

गृहमन्त्री रामबहादुर थापा बादलले अनसनरत प्राध्यापक डा. गोविन्द केसीको शैली अधिनायकवादी भएको टिप्पणी गरेका छन् ।

बुधबार संघीय संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली टिप्पणी गरेका हुन् ।

नेकपाका नेता समेत रहेका गृहमन्त्री थापाले डा. केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको पनि स्पष्ट पारे । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने गृहमन्त्री थापाको भनाई छ ।

केसीले अस्पतालमा अनसन बस्नुलाई लोकतन्त्र भन्न नमिल्ने गृहमन्त्री थापाको तर्क छ । ‘अस्पताल, चोक जस्ता संवेदनशील ठाउँमा विरोध गर्दा अस्तव्यस्त हुन्छ । अन्त बस्न सक्नुहुन्न ?’, गृहमन्त्री थापाले भने, ‘त्यसैले त्यो गर्नु पनि हामी लोकतन्त्र भन्दैनौं । यो लोकतान्त्रिक शैली होइन ।’

सरकार प्रतिगामी भएको अवस्थामा विद्रोह गर्नुपर्ने थापाको भनाई छ । ‘अहिले विद्रोह गर्ने समय हो ? यो सरकार दलाल राष्ट्रघातीको हो ?’, गृहमन्त्री बादलले प्रश्न गरे ।

Post Comment