नेकपा एमालेका सांसद योगेश भट्टराईले गोविन्द केसी, गंगामाया अधिकारी र बालकृष्ण ढुंगेलको नाममा राजनीति नगर्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।
“उहाँ आफूखुसी अनशनमा हुनुहुन्छ । उहाँ आफूखुसी जुम्ला जानुभएको हो,” भट्टराईले भने, “२० वटाभन्दा बढी मेडिकल कलेज अहिले मुलुकमा छन् । तिनका मालिकले मार्सी चामलको भात र चौरासी व्यञ्जन खाएका छन् कि दुना टपरीमा ढिँडो खाएका छन्, छानबिन हुनुपर्छ । हिजो सम्बन्धन दिएका कलेजको क्वालिटी छानबिन हुने कि नहुने ? मेडिकल कलेज कहाँ खोल्ने भन्ने गोविन्द केसीले भन्ने विषय होइन ।”
उनले गोविन्द केसीका मागमा आफूहरु खुलामञ्चमा छलफल गर्न तयार रहेको बताए । “गोविन्द केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ब्ल्याकमेल भएको छ,” भट्टराईले भने, “कांग्रेस बचाउन अब गोविन्द केसी चाहिएको हो ? उहाँको जीवन रक्षा हुनुपर्छ । गोविन्द केसीले राखेका प्रत्येक मुद्दाहरु हामी खुलामञ्चमा पनि छलफल गर्न तयार छौं ।”