‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माग्नुभयो ?

‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माग्नुभयो ?
राजनीति

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशव बडालले डाक्टर गोविन्द केसीलाई मानव ढाल बनाइएको बताउनुभयो ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बडालले भन्नुभयो, ‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं ।’

बडालले अगाडि भन्नुभयो, ‘यस्तो अत्याचार नगरौं, संसदले कुन विधेयक र कस्तो विधेयक पास गर्ने वा नगर्ने भन्ने अनसनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विधेयकमा चित्त नबुझे विधेयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ ।’

उहाँले ऐन सडकबाट पारित गर्नेजस्तो कुरा गर्न नहुने धारणा राख्नुभयो । ‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएको छ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोही पनि नलागौं’, बडालले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थालाई अफाप सिद्ध तुल्याउनको लागि डाक्टर केसीलाई जुम्लामा अनशन बस्न पठाइएको हो ।’

डाक्टर केसीको अनसन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्य मन्त्री हुँदा थापाले केसीको माग पूरा नगरेको बडालले टिप्पणी गर्नुभयो । ‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन ?’, बडालले प्रश्न गर्नुभयो ।

मेडिकल क्षेत्र सफा हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको सुनाउँदै उहाँले डाक्टर धर्मकान्त बास्कोटाजस्तो सम्मानित र इमानदार डाक्टरलाई त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन समेत डाक्टर केसी अनशन बसेको आरोप लगाउनुभयो । ‘डाक्टर बांस्कोटा मात्रै होइन, भगवान कोइरालालाई पनि त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन उहाँ अनशन बस्नुभयो’, बडालले भन्नुभयो ।

नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला डाक्टर केसीले भोट मागेको आरोप लगाउनुभयो । ‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माग्नुभयो ?’, बडालले भन्न्ुभयो, ‘त्यही गुन तिर्नको लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन् ।’

Post Comment