पाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे।
मंगलादेवी सिंहको २२औं स्मृति दिवसको अवसरमा आइतबार बिहान काठमाडौंको शोभा भगवतीमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकार सबै क्षेत्रमा असफल भएको बताए।
‘दुई तिहाइ बल भएको सरकारले उल्लेख्य, क्रान्तिकारी र जनतालाई छुने खालको कार्यक्रम ल्याउन सकेन’, उनले भने, ‘सरकार कुनै क्षेत्रमा पनि सफल हुन सकेको छैन। दुई तिहाइको सरकार आएदेखि बढेको मूल्य हेर्दा पनि जनतालाई मार परेको छ।’
बलात्कार र हत्याका घटनाहरु नरोकिएको, शान्ति सुरक्षा दिन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको र विकासका कुरामात्र गरेको तर काम नगरेकोलाई उनले सरकारको असफलताको रुपमा व्याख्या गरे। कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले नै राजनीतिक रंग दिन खाजेको र अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप उनले लगाए।
पूर्वमन्त्री समेत रहेका नेता सिंहले भने, ‘कञ्चनपुरमा बलात्कार गरेर हत्या गरेको घटनालाई ट्विस्ट गरेर, राजनीतिक रंग दिन खोजेर, अपराधीलाई छुटाउने प्रयास सरकारले गर्यो।’
विकास निर्माणका ठूलाठूला नारा दिने सरकारले सडकका साना खाल्डासमेत पुर्न नसेकेको भन्दै उनले आलोचना गरे। उनले भने, ‘विकास निर्माणको कुरामा पनि केबल नारामात्र अगाडि सार्ने काम भएको छ। पानीजहाजदेखि रेलको कुरा गर्ने तर सडकका खाल्डाखुल्टी नपुर्ने?’
फरक प्रसंगमा नेता सिंहले कांग्रेस महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिनापछि सार्ने निर्णय गलत भएको बताए। यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको उनले बताए।
कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो। यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए।
नेता सिंहले भने, ‘हिजोको निर्णयबाट विगतमा कांग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ। यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका साथ, समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ।’
उनले अगाडि भने, ‘डेट दिने र त्यसलाई सार्दै काम भयो। वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो। यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं।’
उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए। तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए।
उनले कांग्रेसलाई सुधार्न पार्टीभित्र ठूलै अभियान सुरु भइसकेको दाबीसमेत गरे। त्यसको प्रतिफल छिट्टै आउने पनि उनले बताए।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘पार्टीलाई विधिसम्मत चलाउनका लागि पार्टीभित्र ठूलै अभियान अगाडि बढिसकेको छ। आउँदा दिनमा सबैले त्यसको प्रतिफल देख्नुहुनेछ।’