भारतीय सेना प्रमुखलार्इ योगेशको जवाफ: ‘हिजो भारततिर ढल्कियो त्यो गल्ती थियो,अब ढल्किदैन’

भारतीय सेना प्रमुखलार्इ योगेशको जवाफ: ‘हिजो भारततिर ढल्कियो त्यो गल्ती थियो,अब ढल्किदैन’
राजनीति

नेपाल कम्युनिस्ट पार्टीका नेता एवम प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतको भनाइलाई जवाफ फर्काएका छन् ।

भारतीय सेना प्रमुख विपिन रावतको नेपाल भारततीय नझुकी सुखै छैन भन्ने अभिव्यक्तिको सांसद भट्टराईले प्रतिवाद गरेका हुन् । सामाजिक सञ्जालमा एक ट्विट गर्दै भट्टराईले नेपालले विगतमा जे जस्तो गल्ती गरेको भएपनि अबका दिनमा त्यस्तो गल्ती नहुने बताएका छन् ।

नेपाल चीनतिर ढल्किएको भन्ने भारतीय सेना प्रमुखको भनाइको पनि सांसद भट्टराईले जवाफ दिएका छन् । उनले नेपाल आफ्नै स्थानमा रहने र भारत तथा चीन कतैतिर पनि नढल्किने लेखेका छन् । उनले भारतीय सेना प्रमुख रावतलाई नेपालको बारेमा भन्दापनि आफ्नै देशको र आफ्नो बारेमा चिन्ता गर्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो, अब तेता तिर ढल्किदैन, यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन । आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामीनै प्रयाप्त छौ ।’

भारतीय सेना प्रमुख रावतले बिम्स्टेक सैनिक अभ्यासको समापन कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेपाल र भुटान भारतसँग नझुकी सुखै नभएको बताएका थिए । जसको नेपालमा राजनीतिक तथा नागरिक तहमा व्यापक विरोध भइरहेको छ । सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय सेना प्रमुख रावतले नेपालबारे दिएको विवादित अभिव्यक्तिको कडा विरोध भइरहेको छ ।

Post Comment