प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको संघकी अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।
ज्ञापन पत्र बुझाउनु अघि संघले माइतीघर मण्डलादेखि बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडिसम्म विरोधी र्याली निकालेको थियो । विरोध र्यालीमा निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।
र्यालीमा सहभागी संघका नेता, कार्यकर्ताहरुले ‘केपी ओली सरकारको चमत्कारः महंगी र बलात्कार’ लेखिएको व्यंग्यात्मक प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।