न्यूयोर्कमा ओलीले कस-कसलाई भेट्दैछन् ?

न्यूयोर्कमा ओलीले कस-कसलाई भेट्दैछन् ?
राजनीति

राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क आइपुगेका प्रधानमन्त्री केपी ओलीले क्यानाडाका प्रधानमन्त्री ट्रुडोसँग एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

भेटवार्तामा सहभागी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध कायम भएपछि पहिलो पटक प्रधानमन्त्री स्तरमा कुराकानी भएको बीबीसीलाई बताए।

उनले भने, “दुवै देशबीच एउटा साझा संयन्त्र बनाएर आपसी सम्बन्धलाई थप मजबुत बनाउने गरी अघि बढ्नेबारे एउटा सम्झदारीपत्रमा हस्ताक्षर भएको छ।”

क्यानाडाका प्रधानमन्त्री ट्रुडोले उच्चस्तरमा पहिलो पटक भेटवार्ता भएको भन्दै ५३ वर्ष लामो दुई देशको मित्रतालाई अझ गहिरो बनाउन चाहेको बताए।

उनले सन् २०१५ को विनाशकारी भूकम्पका क्रममा क्यानाडाले सहयोग गरेको चर्चा गर्दै अहिले सुशासनको क्षेत्रमा विभिन्न निकायसँग काम गरिरहेको बताए।

नेपालले हासिल गरेका प्रगतिको प्रशंसा गर्दै उनले दुवै देशका नागरिकको समृद्धिका लागि काम गर्न इच्छुक रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सन् १९६३ मा कूटनीतिक सम्बन्ध कायम भएपछि पहिलो पटक उच्चस्तरीय भेटवार्ताको अवसर प्राप्त भएको भन्दै भूकम्पका क्रममा क्यानाडाबाट नेपालले प्राप्त गरेको सहयोगको प्रशं‌सा गरे।

प्रधानमन्त्री ओली आफ्नी पत्नीसहित राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीले महासभामा सहभागी विभिन्न देशका सरकार प्रमुखको सम्मानमा आयोजना गरेको रात्रीभोजमा पनि सरिक भएका छन्।

महासभाको सन्दर्भ पारेर गरिने रात्रीभोजमा आमन्त्रित सरकार प्रमुखसँग अमेरिकी राष्ट्रपतिले तस्वीर खिचाउने प्रचलन रहँदै आएको छ।

शान्ति, लोकतन्त्र र विकास

न्यूयोर्कको समय अनुसार म‌ङ्गलवार प्रधानमन्त्री ओलीले महासभाको उद्घाटन सत्रमा सहभागिता जनाउनुको साथै राजकीय दिवा भोजमा सहभागी हुनेछन्।

त्यसबाहेक शान्ति सेनासम्बन्धी उच्चस्तरीय बैठकमा दिउँसो सहभागी भएर उनी एसिया सोसाइटीको प्रवचन कार्यक्रममा सरिक हुनेछन्।

शान्ति लोकतन्त्र र विकास शीर्षकको उक्त प्रवचनलाई अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रडले सञ्चालन गर्नेछन्।

ओलीले बुधवार स्वीटजरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र ब्रिटेनले नेपालसँग कूटनीतिक सम्बन्ध कायम राखेको २०० वर्ष पुरा भए पनि कैयौँ वर्षयता दुई देशका प्रधानमन्त्रीको तहमा प्रत्यक्ष भेटवार्ता हुन सकेको थिएन।

यसअघिको महासभामा आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाले बांग्लादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका नेताहरूसँग भेटेका थिए।

स्वराजसँग भेट

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यहाँको समय अनुसार सोमवार भेटेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीलाई बुधवार साँझ भेट्दैछिन्।

बिहीवार नेपालका परराष्ट्रमन्त्रीले सार्क देशका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक आयोजना गरेका छन् जसका क्रममा पाकिस्तानमा हालै भएको सत्ता परिवर्तनपछि पहिलो पटक दिल्ली र इस्लामाबादबीच परराष्ट्रमन्त्रीको तहमा प्रत्यक्ष छलफल हुने ठानिएको छ।

नेपाली प्रतिनिधिमण्डलले केही वर्षयता भारत-पाकिस्तान तनावका कारण अवरुद्ध रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌ंगठन सार्कलाई क्रियाशील बनाउने र शिखर बैठक आयोजनाका लागि पहल गरिरहेको प्रतिनिधिमण्डलमा सहभागी एक अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले न्यूयोर्कको समयअनुसार बिहीवार अपरान्ह राष्ट्रस‌ंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् भने त्यही साँझ महासभामा आफ्नो मन्तव्य दिनेछन्।

न्यूयोर्कबाट शनिवार कोस्टारिकाका लागि प्रस्थान गर्ने ओली त्यहाँ उच्चस्तरीय भेटवार्ताहरू सकेर अक्टोबर ३ मा काठमाण्डूका लागि प्रस्थान गर्नेछन्।

बिबिसि नेपालीबाट

Post Comment