सरकारका काम कारबाही र पार्टीभित्र चुलिएको असन्तुष्टिका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
पार्टी एकता प्रक्रियाले पूर्णता नपाउँदै विधिविपरीत प्रदेश कमिटीको नेतृत्व छानिएको भन्दै वरिष्ठ नेताहरूबीचको विवाद छताछुल्ल भएका बेला नेकपाको बैठक बस्न लागेको हो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ ।
हिजो एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्नकै लागि सचिवालयको बैठक डाकिएको जानकारी गराएका थिए । उनले बैठक बसेर प्रदेश र जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी अघिबढ्ने बताए ।