नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले जनताले चाहे हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन् ।
आफूहरुलाई प्रतिपक्षमा बस्नको लागि जनताले भनेको कुरालाई सहर्ष स्वीकार गरेको सुनाउँदै खड्काले भने,‘जनताको सुख, सुविधाको विषयलाई र हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्ने विषयलाई नेपाली कांग्रेसले जहिल्यैपनि सरकारलाई सहयोग गर्छ र गरिरहन्छ भन्ने कुरा हाम्रो उद्धघोष हो । आजपनि नेपाली कांग्रेस त्यो उद्धघोषभन्दा पछाडि छैन् ।’
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अत्यन्तै बलियो सरकार भनेर ओली नेतृत्वको सरकारलाई भन्दै गर्दा सरकारसँग आशा हुने बताए । उनले थपे,‘नेपाली कांग्रेसले यो सरकारलाई स्वागत गर्छ । र, आशा पनि गर्छ । किनकी बलियो सरकार नेपाली कांग्रेसको पनि चाहना हो । संसदीय व्यवस्थाभित्रको विजयमा यस्तो बलियो सरकार भैरहँदा तमाम जनताका आशा हुन्छन् । ईच्छा हुन्छन् । अब हाम्रो मुलुक समृद्ध बन्नसक्छ । र, हामीले चाहेजस्तो मुलुक बनाउन सक्छौं भन्ने जनताको जुन आशा हो, त्यो आशामाथि तुषारापात हुन सुरु गरेको छ। सरकारमै दुई तिहाई बल पुर्याएर राखेका साथीहरुलाई समेट्न सकेको छैन, यो सरकारले ।’
हत्या, हिंसा, बलात्कारमा सरकारको हात छ भन्ने कुरा पछिल्लो समय प्रष्ट हुन थालेको पनि उनले गम्भिर आरोप लगाए ।
उनले संविधान संशोधनको विषय चलिरहेकोले संशोधन गर्नुपर्ने जति सबै कुराहरु संशोधन गर्न सरकारलाई सुझाव दिए ।