नेकपामा तल्लो तहको एकता दसैंलगत्तै

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै
राजनीति

आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको हो ।

नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको छ । बैठकले छलफल गरेपछि पार्टीका स्थायी समिति बस्ने गरी समन्वयसमेत गरिरहेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थायी समितिको बैठक १२ र १३ गतेका लागि बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् । एमाले र माओवादी केन्द्रबीच संयुक्त चुनावी गठबन्धन सुरु भएदेखि नै नेकपाका संगठनहरू चलायमान छैनन् । गत जेठमा केन्द्रमा एकता गरेपछि त झन् पार्टीका काम करिब ठप्प छन् । एक साताअघि बसेको सचिवालय बैठकबाट एकता प्रक्रियाका अल्झन हटाउने भनिएको थियो । तर उक्त बैठकमा अकस्मात् नेता वामदेव गौतमको चुनावमा उठ्ने प्रसंग र काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामाको पत्र आएपछि अन्य विषयमा छलफल हुन सकेको थिए ।

नेकपाले हाल प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । यद्यपि यो निर्णयमाथि पनि वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ । नेपालको असहमति भए पनि प्रदेशका पदाधिकारीहरूले काम थालिसकेका छन् । उनीहरूले अहिले सहमति कायम हुन सक्ने जिल्लाको खाका बनाइरहेका छन् । दुवै पार्टीको सम्पत्ति एकीकृत गर्ने, भेलाहरू आयोजना गर्ने लगायतका काम प्रदेशका पदाधिकारीहरूले गरिरहेका छन् । अब केन्द्रबाट एउटा ठोस निर्देशन जानेबित्तिकै जिल्ला तहको सबै एकीकरण पूरा हुन्छ ।

पार्टी एकीकरण नभएका कारण सरकारले गरेका कामकारबाहीमा समेत नेताहरूले स्वामित्व लिन हिच्किचाइरहेका छन् । त्यसैले अब छिटो एकीकरण टुंग्याउनुपर्ने दबाब नेताहरूमा छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दसैंको बिदाको समयमा पनि आन्तरिक परामर्श गरी सचिवालय बैठकको तयारी गर्नेछन् । सचिवालयले एकताका सैद्धान्तिक आधारका गृहकार्य गरेपछि स्थायी समितिमा बृहत् छलफल हुन्छ । यसपटक स्थायी समितिले सरकारका कामकारबाहीको विषयमा पनि समीक्षा गर्ने जनाइएको छ ।

Post Comment