पूर्वराजा ज्ञानेन्द्रको दुखेसो: ‘देश कसरी बचाउने भन्ने चिन्ता बढ्यो’

पूर्वराजा ज्ञानेन्द्रको दुखेसो: ‘देश कसरी बचाउने भन्ने चिन्ता बढ्यो’
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तनका नाममा भएका ‘असामयिक तथा असान्दर्भिक कार्यसूची’का कारण देश कसरी बचाउने भन्ने चिन्ता बढेको बताएका छन् ।

बडादसैंको शुभकामना दिन जारी गरिएको प्रेस विज्ञप्तिमा उनले देश बन्ने/बनाइने सपना देखेका आफूहरु चिन्ताजनक अवस्थामा आइपुगेको जिकिर गरेका छन् ।

पूर्वराजा शाहले ‘हरेक उपलब्धिहरु परिवर्तन भएपनि हरेक परिवर्तनहरु उपलब्धिमूलक बन्न नसक्ने रहेछन् भन्ने स्पस्ट भएको विद्यमान अवस्थाले देखाएको’समेत उल्लेख गरेका छन् ।

विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थाले नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै गएको तथा हिमाल, पहाड र तराईमाझको ऐक्यभाव तोड्ने प्रयत्न भइरहेको आरोपसमेत लगाइएको छ ।

पूर्वराजा शाहले अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको भन्दै आफैंलाई साक्षी राखेर देश र देशवासीको पक्षमा केही गर्ने प्रण गर्न आह्वानसमेत गरेका छन् ।

पूर्वराजा शाह एक महिने विदेश भ्रमण गरी मंगलबारमात्र स्वदेश फर्किएका हुन् ।

उनले बुधबार महाअष्टमीको अपराह्न काठमाडौंका विभिन्न शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, विजयादशमीको टीका आफन्त, शुभेच्छुक तथा सर्वसाधारणलाई लगाइदिने उनका प्रेस सल्लाहकार फणिराज पाठकले जानकारी दिए ।

Post Comment