सामाजिक सञ्जालमा सुरु भएको #MeToo अभियानका क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ। अक्टोबर १७ मा यौन उत्पिडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा समेत दिए। बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साता अघि नेपाली महिला पत्रकाहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोले।
विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ। मि टु मुभमेन्टमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाको पुर्व मेयरले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्। १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन्।
तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन्। मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन्।
उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिका पूर्व मेयर केशव स्थापितले ह्यारेस गरेको बारे लेखिन्। केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन्।
उनले लेखेकी छिन् ’१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु। उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन्। मलाई थाह छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन्। हामी बोल्न नसक्ने होइनौं। हामी हाम्रो आवाज उठाउन सक्छौं। हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो।’
यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन्।
बलिउड इण्डस्ट्रीमा यो मुभमेन्टले सेक्सुअल ह्यारेसमेन्ट गर्नेहरुको असली रुप देखाएको छ।