प्रधानमन्त्री केपी शर्माले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका छन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास पुर्याउने बताएका थिए । तर, यो पुरा नहुँदै उनले नयाँ नारा दिएका छन्, अब चुलोमा ग्यास पाइप होइन, बिजुलीको तार ।
काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले यो पाँच थान विद्युतीय बसको कुरा होइन, आगामी कार्यदिशाको संकेत भएको बताए । उनले भने, ‘मैले ग्यासको पाइप भन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं ।’
हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रीसमेत विद्युतीय हुनुपर्ने उनले बताए । ‘संसार छिटोछिटो बगेको छ । यो तीन वर्षभित्र हामी पनि ग्यास पाइप चुलोमा होइन, विजुलीको चार चुलोमा जाँदैछौं । केही मान्छेलाई फेरि अनौठो लाग्नसक्छ । तर, दुनियाँ बदलिएको बदलिएकै छ’ उनले भने ।