नेकपाको चियापान कार्यक्रममा सीके राउतलाई निम्तो

नेकपाको चियापान कार्यक्रममा  सीके राउतलाई निम्तो
राजनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । ।


नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताएको समाचार आजको राजधानी दैनिकमा समाचार छ ।

तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित बगैंचामा हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा केन्द्रीय सदस्य सुधीर साहले बताए । अत्यधिक अतिथि आउने भएकाले खुला ठाउँमा भव्य रूपमा चियापान गर्न लागिएको उनले बताए ।

पार्टी एकता हुनुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्दै आएका थिए । गत वर्ष संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनका कारण चियापान आयोजना गर्न नसकिएको नेताहरु बताउँछन् ।

चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायतका नेताहरुले कार्यक्रम स्थलको निरीक्षण गरेका छन् ।

चियापानका लागि नेकपाले हालसम्म करिब ५० हजार अतिथिहरुलाई निम्ता दिइसकेको छ । चियापानमा करिब ३५ हजारभन्दा बढी अतिथि सहभागी हुनेछन् ।

चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म तय गरिएको छ । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्ट्याइएको छ ।

दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीले ३ सय स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।

Post Comment