भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले नेपाल र भारतबीचको सम्बन्धमा कसैले पनि म ठूलो दाइ हुँ भन्ने मानसिकता राख्न नहुने बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘हामी भाइ-भाइ पक्कै हौं, तर भारत दाइ र नेपाल भाइ भन्ने मान्यता गलत हो ।’
भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवबारे प्रवचन दिन आयोजित कार्यक्रममा नेता यचुरीलेे दुई देशबीच सहअस्तित्वको सम्बन्ध रहेको भन्दै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीचको सम्बन्ध जुम्ल्याहा दाजुभाइको जस्तो भएको उल्लेख गरे ।
‘जुम्ल्याहा भएपछि एउटालाई दुख्दा अर्कोलाई पनि दुख्नुपर्छ र एउटा खुशी हुँदा अर्को भाइ पनि रमाउन सक्नुपर्छ’, यचुरीले कार्यक्रममा भने ।
नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा बिहीबार काठमाडौं आइपुगेका मार्क्सवादी नेता यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका छन् ।