प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कर्मचारीतन्त्रले पटक्कै सहयोग नगरेकाले काम गर्न नसकेको पीडा पोखेका छन् । दुईतिहाई बहुमतको सरकारले असहयोग गर्ने उच्च प्रशासक को को हुन् तिनको पहिचान गरी उनीहरुको विकल्प खोज्न सक्छ । जसरी २०४८ मा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको बहुमतको सरकार बनाएपछि ४८ जना तत्कालीन राजदरबार निकट उच्च प्रशासकहरुलाई बर्खास्त गरेका थिए, त्यसरी नै जनहितमा काम नगर्ने, सरकारलाई असहयोग गर्ने को को हुन् ती सचिवहरुलाई प्रधानमन्त्री ओलीले हटाउन सक्छन् ।
प्रधानमन्त्री ओलीले चाहेमा दुई तिहाईको सरकारको शक्ति देखाउन सक्छन् । आफूलाई असहयोग गर्ने उच्च प्रशासकलाई हटाउनका लागि ऐन नियम नै संशोधन गर्नसकिने अवस्था छ । असहयोग गरे भन्ने होइन, ऐन नियम संशोधन गरेर त्यस्ता कर्मचारीको विकल्प खोज्न सरकारलाई जनादेश छ । जनादेश अनुसार अहिलेका सचिव वा सहसचिवहरुको उमेर वा पदावधिबाट बिदा दिनेगरी ऐन नियम संशोधन पनि एउटा विकल्प हुन सक्छ । तर, कर्मचारीले सहयोग गरेनन् भनेर ओली सरकारलाई पन्छिने ठाउँ छैन ।
देउवाका प्रिय ओलीका प्यारा भएपछि…!
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हरतरहले सहयोग गरेका मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ज्वाईं झैं सम्मान दिएर राखेपछि उनलाई कर्मचारीतन्त्रले कसरी सहयोग गर्नसक्छन् ? यो प्रश्न नेकपाको सरकारको सफलता चाहने उच्च प्रशासकहरुले गर्ने गरेका छन् ।
देउवा पत्नी आरजु देउवा र तत्कालीन गृहमन्त्रालयका सचिव रेग्मीको डिजाइनमा मुख्यसचिव सोमलाल सुवेदीलाई १ बर्ष कार्यकाल बाँकी हुँदैै एसियाली विकास बैंकको बैकल्पिक निर्देशकको मासिक १८ हजार अमेरिकी डलरको जागिरको प्रलोभन देखाएर पठाइएको थियो । र, लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाइएको थियो ।
आरजु राणाकै योजनामा गृहसचिव भएका रेग्मीले विमलेन्द्र निधि गृहमन्त्री हुँदा सबै काम उनकै निर्देशनमा गर्दैआएका थिए । गृहमन्त्री निधिलाई पत्तो समेत नदिई कतिपय काम गृहमन्त्रालयमा आरजुले रेग्मीबाट गराउँदैआएकी थिइन् ।
आरजुका अति विश्वासिला मुख्यसचिव रेग्मीले एमाले सांसद नवराज सिलवाललाई फसाउन ओली प्रधानमन्त्री भएको अघिल्लो दिनसम्म भूमिका खेले । मुख्यसचिवले चाहेको भए देउवा सरकारले गरेका एकपछि अर्का वाम सरकारलाई असफल पार्ने र देशलाई दीर्घकालीन हानी पुग्ने निर्णय रोक्न सक्थे । तर उनले कामचलाउ सरकारलाई एकपछि अर्को विवादास्पद निर्णय गर्न सघाए ।
चुनाव हारेपछि पनि देउवाले राष्ट्रको ढुकुटीबाट बीसौं करोड रुपैया“ बा“ड्ने निर्णयसाथ दिने पनि रेग्मी नै हुन् । ओली सरकारलाई अप्ठेरो पार्न देउवालाई बृद्धभत्ताको उमेर ६५ बर्षमा झार्ने निर्णय गर्र्ने समेत रेग्मी नै थिए । ‘‘मरेपछि डुमै राजा’’ भन्ने शैलीमा देउवाले बन्न लागेको ओली सरकारलाई असफल पार्न अर्थतन्त्र नै संकटमा पारिदिने देउवाको प्रतिशोधको ज्वालामा घ्यू हालिदिने मतियार मुख्यसचिव रेग्मीलाई साथ लिएर केपी ओलीको सरकार कसरी सफल हुन्छ ? वरिष्ठ सचिवहरु चर्चा गर्दछन् ।
चुनावअघि आवश्यक नै नभएको १५ एआइजी बढुवादेखि आचारसंहिता विपरीतका नियुक्ति, चुनावको मुखमा सीडीओ सरुवा गरी वाम गठबन्धन हराउन मुख्यसचिव रेग्मीले भूमिका खेलेका थिए । देउवाका हरुवा मन्त्रीहरुको प्रस्तावमा सचिवहरु सरुवा गरेका थिए ।
कामचलाउ सरकारले सचिव नै सरुवा गरी आतंकित बनाउ“दै चुनावपछि गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड, खानेपानी संस्थान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, गुठी संस्थान, पर्यटन बोर्ड, बृहत्तर जनकपुर विकास परिषद्, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष र सदस्य नियुक्ति, स्वास्थ्य वीमा बोर्डको कार्यकारी निर्देशकलगायतका निर्णय गर्ने काम पनि गरेका थिए ।
वाम सरकारलाई असफल पार्ने काममा मुख्यसचिव रेग्मीको सक्रिय भूमिका ऐनजस्तै छर्लङ्ग छ । उनको नसा नसामा कांग्रेसको रगत बगिरहेको छ । प्रधानमन्त्री ओलीले यस्तै मुख्यसचिवलाई सारथी बनाएपछि कसरी सरकार सफल हुन्छ ? मुख्यसचिव रेग्मी सचिवहरुको फोन समेत रिसिभ गर्दैनन् । रेग्मीमा प्रशासकहरुसंग समन्वय अभाव छ । उनको नियुक्ति सरुवा बढुवा र ठेक्कापट्टामा सेटिङ गर्ने रामचन्द्र भट्ट ‘चन्दने’संग बाक्लो उठबस छ ।
सचिवहरुको फोन रेस्पोन्स नगर्ने मुख्यसचिव रेग्मी चन्दने जस्ता बिचौलियाको फोन भने एक घन्टीमै उठाउने गर्दछन् । पछिल्लो समयमा मुख्यसचिव रेग्मीले प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाललाई प्रभावमा पारी प्रधानमन्त्रीको मन जितिसकेको मन्त्रिपरिषद् स्रोत बताउछ । अहिले त रेग्मी प्रधानमन्त्रीको अति निकट भइसकेको चर्चा निजामती क्षेत्रमा चलेको छ । (२०७५ कात्तिक १२ गते साँघु साप्ताहिक)