ओलीलाई निधिको कटाक्ष : ‘उखान र टुक्काले देश चल्दैन’

ओलीलाई निधिको कटाक्ष : ‘उखान र टुक्काले देश चल्दैन’
राजनीति

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीको उखान र टुक्काले देश नचल्ने भन्दै जनताले दिएको जनमतको कदर गर्न सुझाव दिएका छन् ।

ललितपुर कांग्रेसको गोदावरी नगरपालिका ईकाई समितिले सोमबार गोदावरीमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा निधिले जनताले अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

‘उखान र टुक्का भनेर देश बन्दैन’, उपसभापति निधिनको भनाई उदृत गर्दै कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले भने, ‘काम गरेर देखाउनु पर्छ । जनताले कम्युनिस्टहरूलाई झण्डै दुई तिहाई बहुमत दिएका छन् । त्यो बहुमतको कदर गर्नुपर्छ ।’

केपी ओली वर्तमान संविधानको पक्षमा कहिल्यै पनि नभएको आरोप निधिले लगाए । ‘गणतन्त्रका लागि दोस्रो जनआन्दोलन चलिरहेका बेला केपी ओलीजीले बयल गाडा चढेर अमेरिका पुगिदैन भन्नुभएको थियो’, कांग्रेसका उपसभापति निधिले भने, ‘संविधान कार्यान्वयन गराउन यो सरकारलाई कांग्रेसले दवाव दिनुपर्छ ।’

कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेस कार्यकर्ताको काँधमा आएको पनि निधिले बताए । निधिले वर्तमान सरकारका गलत क्रियाकलापको खुलेर आलोचना गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महँगी, भ्रष्टाचारले गर्दा जनताले दुःख पाएको पनि उनले बताए । ‘देशमा शान्ति सुरक्षा विग्रिदै गएको छ’, उपसभापति निधिले भने, ‘कर्मचारीहरूलाई पनि सरकारले दमनमा राखेको छ । विभिन्न डर र धम्की दिएर राखिएको छ ।’

कांग्रेसका सहायक महामन्त्री डा.प्रकाश शरण महतले कांग्रेसमाथिको जनताको जनमत नघटेको बताए । ‘०७४ को निर्वाचनमा कांग्रेसले लोकप्रिय मत पाएको छ’, उनले भने, ‘कांग्रेसका शुभेच्छुकहरू डराउनु पर्दैन । हामी प्राविधिक रुपमा मात्रै निर्वाचन हारेका हौँ । जनताको साथ कांग्रेसलाई छ ।’

कम्युनिस्ट सरकारलाई जनताले दिएको अभिमत धेरै भइसकेको उनले दाबी गरे । ‘कम्युनिस्ट पार्टी मिलेकाले कांग्रेस हारेको हो’, उनले भने, ‘उनीहरूको गलत रबैयाका कारण कांग्रेसले अर्को चुनावमा दुई तिहाई बहुमत ल्याउनेछ ।’

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले अन्तर्घातीहरूलाई कारबाही गर्न पार्टीले खुट्टा कमाउन नहुने बताए ।

‘ललितपुरमा कांग्रेस कमजोर छैन । बलियो भएर आएको छ । निर्वाचनमा अन्तर्घातीहरूले गर्दा कांग्रेसका उम्मेदवार हारेका हुन्’, अमात्यले भने, ‘३६४ दिन नेपाली कांग्रेस बन्ने । मतदानको बेला एक दिन अर्को पार्टी बनेर अन्तर्घात गर्नेहरूदेखि सर्तक हुनुपर्छ ।’

कार्यक्रममा कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनसहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Post Comment