युनिभर्सल पिस फेडेरेसन (युपीएफ) नेपालका अध्यक्ष एकनाथ ढकालले अाफूलार्इ असुरक्षा बढेकाे भन्दै सरकारसँग सुरक्षा दस्ता माग गरेका छन् । उनले हालै सम्पन्न विवादास्पद एसिया प्यासिफिक सम्मेलनपछि विभिन्न तहबाट गाली-गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानमर्दन गरेर मानसिक यातना दिने काम भएकाे बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका ढकालले सम्मेलन गरेर कुनै गलत काम नगरेकाे दाबीका साथ अाफूविरुद्ध लागेका अाराेपहरु पुष्टि भएमा झुण्डिएर मर्न तयार रहेकाे बताएका छन् । अाफूनिकटकाे एक अनलाइन पाेर्टललार्इ अन्तर्वार्ता दिँदै उनले भनेका छन्- ‘म विरुद्ध लागेका अाराेपहरुकाे निन्दा गर्न चाहन्छु । मे के प्रष्ट रुपमा भन्न चाहन्छु भने ती आरोपहरु पुष्टि गर्न चुनौती दिन्छु । देश, नेपाली जनता र राष्ट्रको अहितमा कुनै काम भएको छ भने एकनाथ ढकाल टुँडिखेलमा झुण्डिएर मर्न तयार छ ।’
सम्मेलनपछि चरम विवादमा तानिएका ढकालले विविध प्रश्नहरुकाे उत्तर दिँदै अाफू र अाफ्ना गुरु फादर मुन (सन म्याेंग मुन)काे बचाउ गरेका छन् । सुरुमा फादर मुन अमेरिकामा गतिविधि गर्दा जेल परेकाे र पछि अमेरिकी कंग्रेसबाटै पुरस्कार समेत पाएकाे उनकाे दाबी छ ।
ढकालले अाफूलार्इ सच्चा राष्ट्रवादी भन्दै कहिल्यै पनि देश र जनताको अहितमा काम नगरेको जिकिर समेत गरेका छन् । उनले अाफूहरुकाे मिसन केवल धर्म प्रचार गर्नु मात्र नरहेकाे दाबी गर्दै अाए पनि उनका छद्म गतिविधिहरुले यस कुराकाे पुष्टि गरिरहेकै छन् ।
नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले युपीएफका विवादास्पद र छद्म गतिविधिप्रति अापत्ति जनाउँदै संस्थालार्इ नेपालमा प्रतिबन्ध लगाउन माग समेत गरिसकेका छन् । यसअघि नै राप्रपाका कमल थापा, नयाँ शक्तिका डा बाबुराम भट्टरार्इ, विवेकशील साँझाका नेताहरु, नेमकिपालगायतका नेताहरु र स्वयं सत्तारुढ दल नेकपाका वरिष्ठ नेता भीम रावल, घनश्याम भुषाललगायतले युपीएफका गतिविधिसँग सरकारकाे अाबद्धतामाथि गम्भीर प्रश्न उठाइसकेका छन् । अब याे बहस जनस्तरबाट राजनीतिक वृत्तमा पुगिसकेकाे छ भने यसले संसदमा समेत प्रवेश पाउने संकेत देखिएकाे छ ।
सुरुमा ढकालले युपीएफ र अाफ्नाे राजनीतिक संगठन नेपाल परिवार दलमा अाबद्ध सबैले युनिफिकेशन चर्चका नियम मान्नैपर्ने र फादर मुनकाे धर्मशास्त्र अँगाल्नुपर्ने नियम लादेका थिए । तर विवाद बढ्दै जान थालेपछि अहिले भने यसमा अाबद्धहरुलार्इ धर्मान्तरणलार्इ अनिवार्य गरिएकाे छैन तर अाफ्नाे धर्मका साथै फादरमुनकाे धर्म (जुन मूल क्रिश्चियानिटीबाट अपभ्रंशकाे रुपमा विकसित गरिएकाे छ) लार्इ पनि पालना गर्नुपर्ने नियम छ ।