विपक्षी दल र आफ्नै पार्टीभित्र सरकारका कामलाई लिएर तीव्र आलोचना भएको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले सरकार अहिले असाधारण सफलताको विन्दुमा रहेको दावी गरेका छन्।
आफ्ना केही पछिल्ला अभिव्यक्तिलाई लिएर आलोचना खेपिरहेका ओलीले त्यसलाई ‘डमरुमाथि खतरा हुँदा बघिनी मौन बस्न नसक्ने’ भन्दै कम्युनिस्ट आन्दोलनमाथि हमला हुँदा आफ्नो आक्रोशमा ‘जो पनि पर्न सक्ने’ चेतावनी दिए।
आफूहरू सही ढङ्गले अगाडि बढिरहेको बताए पनि प्रधानमन्त्रीले आफ्ना सफलताभन्दा बढी आफ्नो र पार्टीको प्रतिरक्षामा समय खर्चेका थिए।
तत्कालीन दुई पार्टीका कानुन व्यवसायीका संगठनको एकता कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसाथ उपस्थित प्रधानमन्त्रीले आफूहरू दुवैलाई बाघको संज्ञा दिए।
प्रतिरक्षा
शनिवार बसेको स्थायी समितिको बैठकमा नेता वामदेव गौतमले अघि सारेको पार्टी कमिटिमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु हुनुपर्ने प्रस्तावतर्फ इङ्गित गर्दै ओलीले संविधानले मिल्ने भए दुवै प्रधानमन्त्री समेत बन्न सकिने बताए।
“दुईटा अध्यक्ष हुने अचम्मको प्रणाली छ हाम्रो। आफू-आफू अध्यक्ष, प्रधानमन्त्री भइसकेका नेताहरू भएर पनि पार्टीलाई राम्ररी चलाएका छन्। संविधानले मिल्दैन, नत्र दुई प्रधानमन्त्री समेत हुन बेर लाग्दैनथ्यो।”
राष्ट्रपतिको राजनीतिक पृष्ठभूमिका आधारमा गणतन्त्रमाथि नै लगातार आक्रमण भइरहेको भन्दै उनले त्यसलाई राजतन्त्र फर्काउन खोज्नेहरूको चाहनाको रूपमा हेरेको बताए। त्यसलाई उनले “भयानक प्रचारयुद्ध”को सज्ञा दिए।
मन्त्रिपरिषद् बैठकका निर्णय ढिलो गरी सार्वजनिक गर्ने लगायत सार्वजनिक महत्त्वका सूचनामा नियन्त्रण गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ।
तर प्रधानमन्त्रीले त्यसलाई खुम्चिँदो प्रेस स्वतन्त्रताको चिन्ता नभइ वामपन्थीहरू सुदृढ सरकारमा रहेकोमा चिन्ताको रूपमा अर्थ्याए।
बचाउ
प्रधानमन्त्रीले विगतमा आफूलाई विवादमा तानेका कतिपय विषयमा बचाउ समेत गरे। बुद्धिजीवीलाई जवाफ दिएर थला पार्ने भन्दै बोलेका प्रधानमन्त्रीले आज केही-केहीप्रति मात्र लक्षित अभिव्यक्ति भनेका थिए।
“मैले जनताका विरुद्ध, जनताका हितका विरुद्ध यो परिवर्तनलाई अस्वीकार गरेर भ्रमपूर्ण ढङ्गले सभ्यताका सीमाहरू नाघेर बोल्ने बुद्धिजीवीलाई भनेको थिएँ।”
नले आफ्नो स्वभावलाई झापा आन्दोलन लगायत आफ्ना व्यक्तिगत सङ्घर्षका इतिहाससँग जोडेका थिए।
प्रतिपक्षी नेपाली कांग्रेसको पनि आलोचनामा समय खर्चेका प्रधानमन्त्रीले भने, “कांग्रेसका नेताले कम्युनिस्टलाई दिपावली गरे भन्ने गर्छन्। तर कांग्रेसकै नेताहरू राजासँग मिलेर २०१७ सालको कू गराउनेमा सामेल भए।”
हिजोबाट शुरू भएको कांग्रेस महासमिति बैठकमा बोल्ने सरकारको कामभन्दा कुरा धेरै भएको भन्दै सरकारलाई बेथिति र अराजकताको बाटो समातेको आरोप लगाएका थिए।
हिजै नेकपाको स्थायी समितिको बैठकमा पार्टीकै कतिपय नेताले सरकारको काम र पार्टीका जिम्मेवार नेताका गतिविधिले जनतामा निराशा छाएको बताएका थिए।