पवन महरा
डोटी १८ पुस
भर्खरै सेवा शुरु गरेको शिखर नगरपालिकाको बस आफ्नो नगरक्षेत्रमा नचलाउन दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले धम्की दिएकी छन् ।
बुधबार दिपायल स्थित सेती प्राबिधिक शिक्षालयको गेटनजिकै हिडिरहेको शिखर नगरपालिकाको नगरबस रोकेर यस्तो धम्की दिएको बसका सह–चालकले जनाएका छन् । ‘गाडी रोेकेर उहाँ आउनुभयो,’ नगरबसका सहचालक टंक शर्माले भने,‘त्यसपछि तपाईहरुलाई यता गाडी ल्याउने सहमती कसले दियो । भोलीबाट यहाँ ल्याए गाडी तोडफोड गरिदिन्छु भन्नुभयो ।’
शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले नगरप्रमुख मलासीको व्यवाहारले आफु गम्भिर बनेको बताए । ‘हामी गम्भिर छौ,’ उनले भने,‘उहाँले त्यसो नगर्नुपर्ने हो । जसले जहाँ दिएपनि सेवा दिने हो । हाम्रै नगरका नागरिकलाई जिल्ला सदरमूकाममा सेवा लिन जाँदा आउजाउ गर्न सहज होस भनेर सिलगढीसम्म सेवा दिने निर्णय गरेका हौ ।’ यसविषयमा दिपायल सिलगढी नगरपालिकाकी नगरप्रमुख मलासीसंग छलफल गरिने उनले बताए ।
उता दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मलासीले आफुले ‘धम्की’ नभई ‘सुझाव’ दिएको बताईन् । ‘मैले पहिले बसेर कुराकानी गरौ, कसले कहाँसम्म चलाउने भनेर छलफल गरौ भनेकी थिए,’ उनले भनिन,‘तर, सिधै बस देखेपछि यसरी नचलाउने सुझाव दिएको हँु ।’ दिपायल सिलगढी
नगरपालिकाले पनि यसअघि नै नगरबस सञ्चालन गर्दै आएको छ ।‘हामीले चलाउदा पनि यातायात ब्यबसायीले बिरोध गरेका थिए । छलफल गरेर सीमित एरियामा चलाईरहेका छौ । उहाँहरुले पनि कहाँसम्म चलाउने भनेर छलफल गर्नुपर्छ भनेकी हुँ,’ उनले भनिन्।
प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बैधानिक रुपमा चल्ने सवारी साधनहरु जिल्लाभित्र निर्वाध चल्नसक्ने बताए । ‘उसैपनि सरकारले सिण्डिकेट हटाईरहेको छ । जसले जतापनि सेवा दिनसक्छ भन्ने अवधारणा छ,’ उनले भने,‘स्थानीय तहले त झन नागरिकको सेवा गर्ने हो ।’ यसरी स्थानीय सरकारका बिचमा बिबाद आउदा दीर्घकालिन समस्या आउनसक्ने बताए । ‘यस्ता कुरामा गाउँ–नगर र वडामा बिबाद देखिनुहुदैन,’ उनले भने ।
आइतबार देखि संचालनमा आएकोे शिखर नगरपालिकाको नगर बस कोरालखोला देखि सिलगढी सम्म अन्य सवारी साधन भन्दा २५ प्रतिशत छुटमा संचालन गर्ने निर्णय गरेको छ । यस अघि दिपायल सिलगढी नगरपालिकाद्वारा संचालनमा आएको नगर बस भने शिखर नगरपालिका संग कुनै सहकार्य नगरेर शिखर नगरपालिकामा समेत चल्ने गरेको शिखर नगरपालिकाले बतायो ।