राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका माग राख्दै फागुन ७ गतदेखि संघर्ष थाल्ने निर्णय गरेको छ ।
काठमाण्डु जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर सुरु हुने संघर्षका कार्यक्रम माग पुरा नभए चरणबद्ध अघि बढाउने निर्णय भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
त्यसैगरी राष्ट्रिय एकता दिवसको रुपमा मनाइने पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा मनाउने र त्यसदिन सार्वजनिक बिदा दिनुपर्ने माग बैठकले राखेको छ ।
माघ १३, १४ र १५ गते देशका सबै स्थानीय तहमा हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान र सभा सञ्चालन गर्न केन्द्रले प्रतिनिधि खटाउने निर्णय भएको छ ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गतेदेखि ३० गतेसम्म संचालन गर्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि जनचेतना अभिवृद्धि गर्ने, नेपालमा धार्मिक सद्भाव कायम राख्ने, नेपाललाई सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि जनमत सिर्जना गर्ने, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, संघीयताको खारेजी र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको पक्षमा जनजागरण गर्ने यात्राको उदेश्य रहेको श्रेष्ठले बताए ।
त्यसैगरी वाइड बडी जहाज खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा केन्द्रीय सदस्य, विभागका प्रमुख, सदस्य सचिव र भातृ संगठनका अध्यक्ष र महासचिव सहभागी थिए ।