आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै प्रा. डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलामबाट सुरु गरेका छन् । डा. केसी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फुलगाछीमा बुधबारदेखि अनसन थालेका छन् ।
अनसन सुरु गर्नुपूर्व डा. केसीले दुई पृष्ठको विज्ञप्ति पढे, जसमा प्रधानमन्त्रीसमेत निहीत स्वार्थका अगाडि निरिह हुँदै प्रतिवद्धताबाट पछि हटेका आरोप लगाएका छन् ।
डा. केसीको वक्तव्यमा यसबारे थप केही भनिएको छैन । तर, यसको संकेत किड्नी ट्रान्सप्लान्ट गरेपछि प्रधानमन्त्री ओलीले सेवन गरेको औषधीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ ।
उसो त कुनै समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय गठबन्धनले पनि वक्तव्यमै यस्तै प्रश्न उठाइएको थियो । अहिले त्यसबेला ओलीको स्वास्थ्यबारे प्रश्न उठाउनेहरु ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मै समाहित भइसकेका छन् ।
विगतमा ३० दलले उठाएजस्तै डा. केसीले पनि अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा प्रश्न उठाएका छन् । के आधारमा यो प्रश्न गरियो भन्ने प्रश्नमा उनका निकटवर्तीहरु औपचारिकरुपमा बोल्न तयार भएनन् ।
तर, नाम उल्लेख नगर्ने सर्तमा एक सहयोगीले भने, ‘प्रधानमन्त्रीले पटकपटक म कार्यान्वयन नहुने सहमति नै गर्दिनँ, सहमति गरेपछि कार्यान्वयन गर्छु भन्नुभएको थियो । उहाँले चाहेको भए फूल हाउसबाट यो सहमति पास हुन सक्थ्यो । संसदीय समितिमा पठाएपछि नै जालझेल भएको हो । त्यसैले प्रधानमन्त्री ओलीको निर्णय क्षमतामा प्रश्न उठाउनुभएको होला ।’
उनले अघि भने, ‘किड्नी ट्रान्सप्लान्टपछि इम्युनिटी पावरका लागि खाइने औषधिको साइडइफेक्ट हुन्छ भन्ने सबैलाई थाहा छ । यसबारे बहस हुँदा राम्रै होला ।’