बाँदरले घाउ कोट्याए जस्तो विगतका कुरालाई धेरै नकोट्याउ

बाँदरले घाउ कोट्याए जस्तो विगतका कुरालाई धेरै नकोट्याउ
राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई नेपाली मौलिकतामा नै टुङ्गो लगाउने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विगतमा द्वन्द्वरत पक्षले इमान्दारीपूर्वक बाँकी रहेका काम टुङ्गो लगाउन लागिपरेको र कुनै पनि विषयमा द्वविधासमेत नभएको प्रष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वकालीन विषयलाई लिएर अनावश्यक चासो लिएकोप्रति मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालको विषय हो, हामी आफ्नै मौलिकतामा नै टुङ्गो लगाउँछौँ ।” मन्त्री बाँस्कोटाले द्वन्द्वका विषयमा विदेशीकोभन्दा नेपालीको नै बढी चासो रहेको बताउनुभयो ।

“विगतको द्वन्द्वमा घाइते हुने को ? मर्ने को ? हामी । मार्ने को ? हामी । टुहुरा हुने को ? हामी । दर्दनाक अवस्था कसको भयो ? हाम्रो । विधवा विधुर हुने को ? हामी । घरबास उठिबास लाग्ने कसको ? हाम्रो । सारा क्षति बेहोर्नुपर्ने को ? हामी । उहाँहरुको विदेशी सहयोगमा बनेका कतिपय संरचनामा पनि क्षति पुग्यो होला । चासोका निम्ति धन्यवाद । तर यो विषयलाई हामी हाम्रो मौलिकतामै, हाम्रो विशेषतामा नै टुङ्ग्याउँछौँ,” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले विगतको समस्यालाई समाधान गर्न मतैक्यताका साथ लागिपर्नु भएकाले अनावश्यकरुपमा विषयलाई तन्काउनुको अर्थ नभएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

“विगतका कुरालाई अब कति कोट्याउने”, सञ्चारकर्मीको जिज्ञासमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “बाँदरले घाउ कोट्याए जस्तो धेरै नकोट्याउ ।” सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष एवं सदस्यले दिएको राजीनामा बारेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नियमनअनुसार नियुक्त भएका व्यक्तिले राजीनामा दिनुलाई गलतरुपमा लिन नहुने बताउनुभयो ।

Post Comment