‘प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो’

‘प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो’
राजनीति

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

नेता पौडेलले अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिईसहेको खुलासा गरे । उनले भने,‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भिर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’

Post Comment