नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई धोका दिएको आरोप लगाएका छन् ।
नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद यात्रा २०७५ अन्तर्गत मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उनले प्रचण्डले माओवादीलाई एमालेमा मिसाएर धोका दिएको आरोप लगाए ।
उनले आफूले माओवादी छाडेका नभई माओवादीले आफ्नो काम सकिसकेपछि थप अगाडि बढेको बताए । उनले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको गम्भीर आरोप लगाए ।
‘बुढीगण्डकी नेपालीले बनाउनुपर्छ, समयमै बनाउनुपर्छ,’ उनले भने, ‘भिजन नभएका नेताहरु भ्यू टावर बनाएर बूढीगण्डकीलाई पछाडि धकेलिरहेका छन् ।’
पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । ‘मलाई पनि खबरदारी गर्नुहोस् । म त्यही भएर निरन्तर जनताको जान्छु,’ उनले भने, ‘हामी जनता पनि नयाँ नबनीकन देश बन्दैन । पुरानो सोच सबैले त्याग्नुपर्छ ।’
जनसंवाद यात्राको महत्वमाथि बोल्दै उनले यसअघि पृथ्वीनारायण शाहले गरेको एकीकरण प्रशासनिक र फौजी एकीकरण मात्रै भएको बताए । ‘मध्यपहाडी लोकमार्ग नेपालको भौगोलिक र राष्ट्रिय एकीकरण गर्ने मेरो विश्वास छ’, उनले भने ।
उनले मध्यपहाडी लोकमार्ग आसपास ७ जातिहरुको घना बसोबास रहेको र यो लोकमार्गले उनीहरुबीचको आवतजावत र संसर्ग बढ्ने विश्वास व्यक्त गरे ।