सरकारले मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चन्द समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । चन्द समूहले विस्फोट, आजगनी र जबर्जस्ती चन्दा असुली तथा जनप्रतिनिधिलाई जारीनामा दिन धम्की दिन थालेकाले उक्त समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । विप्लवका कार्यकर्ताले दुई साताअघि ललितपुरको एनसेल टावरमा बम विस्फोट गराउँदा एक सर्वसाधारणको अनाहकमा ज्यान गएको थियो ।
यस्तै केही दिनअघि सो समूहले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा विस्फोट गराएको थियो । प्रधानमन्त्री केपी ओलीले चन्दा असुली र विस्फोटमा संलग्न चन्द समूहसँग सरकारले वार्ता नगर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले चन्दको पार्टीलाई प्रतिबन्ध लगाएको हो ।