राजतन्त्रको माग गर्दै बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा

राजतन्त्रको माग गर्दै बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा
राजनीति

शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो घोषणा गरेको हो ।

आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सवको अवसर पारेर गणतान्त्रिक व्यवस्थाको विरुद्धमा र राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित् प्रदर्शनीमार्गमा बृहत्त प्रदर्शन गर्न लागिएको अध्यक्ष पशुपति खड्काले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतान्त्रिक व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुने जिकिर गरे । उनले भने,‘मैले यो कुरा पहिलेपनि भनिसकेको छु, अब केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री हुन् । मुलुकको राष्ट्रियता नै खतरामा परेको छ । त्यसैले राजा नआई देशको अस्तित्व जोगिँदैन् । शाही युवा शक्ति विगत एक दशकदेखि राजतन्त्रको माग गर्दै सडक संघर्षमा छ । हामीलाई अहिले लाखौं जनताको साथ र सहयोग छ ।’

खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप लगाए । उनले थपे,‘तर, शाही युवा शक्तिले ढालिएका शालिकहरु उठाएर देखाएको छ । हामी निरन्तर राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा जुटेका छौं ।’ उनले चैत २१ गतेको बृहत्त शक्ति प्रदर्शनको पूर्व सन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा कोणसभा तथा भेला आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा शाही युवा शक्ति, नेपालका केन्द्रिय प्रवक्ता गोविन्द ढुंगाना, केन्द्रिय सदस्यहरु प्रदीप सिंह थापा र राजकुमार महर्जन, र ललितपुर जिल्ला सल्लाहकार मुस्कान कार्कीलगायतले राजतन्त्र पुनस्र्थापनाको बारेमा आफ्नो धारणा राखेका थिए । उनीहरुले चैत २१ गते आयोजना गरिने बृहत्त शक्ति प्रदर्शनको लागि आजैबाट घरदैलौ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी गराएका छन् ।

Post Comment