कुण्ठा पोख्न र गुटबन्दी गर्न छाड्नुस : प्रधानमन्त्री ओली

कुण्ठा पोख्न र गुटबन्दी गर्न छाड्नुस : प्रधानमन्त्री ओली
राजनीति

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्ने र गुटबन्दी गर्नेबाट होशियार हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

यहाँ आयोजित दमक नगर तथा वडा समितिलाई शपथग्रहण गराउने क्रममा आज प्रधानमन्त्री ओलीले कसैका कुण्ठा भए पार्टी कमिटीमा छलफल गरेर समाधान खोज्न आग्रह गर्नुभयो । पार्टीभित्रका समस्या पार्टीमा बसेर समाधान निकाल्न सकिने भन्दै उहाँले पार्टी निर्देशन सबैले पालना गर्नुपर्ने सुझाव दिनुभयो ।

सार्वजनिक रुपमा जथाभावी बोल्दै नहिँड्न आग्रह प्रधानमन्त्री ओलीले अब पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरुमा जिम्मेवारी आएको धारणा राख्नुभयो । “केही मान्छे उहिल्यैदेखि पार्टी बिग्रियो, सकियो मात्र भनेर हिँडिरहेको सुन्छु,” ओलीले भन्नुभयो, “जनताले दुई तिहाइ मत दिएका छन्, ६ वटा प्रदेशमा हाम्रो सरकार छ, अधिकांश स्थानीय तहमा हाम्रा उम्मेदवारहरुले जितेका छन् । यती हुँदा पनि पार्टी बिग्रिएको मात्र देख्छन् । के गर्दा सप्रेको हुन्छ भन्दिनु प¥यो नि ?”

घर ढलान गरिसकेपछि पनि २१ दिन टेका निकाल्न नहुने भन्दै उहाँले दुई वटा पार्टी एकता प्रक्रिया चलिरहेका बेला गुटबन्दीको कुरा गर्नु, वरियता मिलेन भन्नु उपयुक्त नहुने दाबी गर्नुभयो । सो क्रममा नगर कमिटीलाई पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरे र वडा कमिटीलाई केन्द्रीय सदस्य देवेन्द्र दाहालले शपथग्रहण गराउनुभएको थियो ।

Post Comment