सरकार पार्टीको निर्देशन अनुसार चल्न सकेन : अग्नि प्रसाद सापकोटा

सरकार पार्टीको निर्देशन अनुसार चल्न सकेन :  अग्नि प्रसाद सापकोटा
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटाले पार्टीको निर्देशनअनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता सापकोटाले दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे। उनले पार्टी एकतामा भएको ढिलाइप्रति पनि असन्तुष्टि पाखे।

उनले दलको सर्वोपरि भूमिका र एकीकरणको आवश्यकतामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको ध्यान पुग्न नसकेको टिप्पणी गरे।उनले भने, ‘दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा एकीकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ। स्थानीय तह सञ्चालनमा, प्रदेश सरकार सञ्चालनमा, केन्द्रीय तह नै सञ्चालन गर्न धेरै गाहे परेको छ। किन भने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो। यसमा अध्यक्षहरूकोे ध्यान पुगेको छैन।’

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमिति संयोजक समेत रहेका नेता सापकोटाले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउनै पर्ने भन्दै त्यससम्बन्धी आवश्यक निर्देशन गरिएको जानकारी दिए।

उनले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनलाई बल पुग्ने गरी निर्देशन गरिएको दाबी गरे।

Post Comment