नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भोलि पार्टी एकता टुंगोमा पुग्ने प्रष्ट पार्नुभएको छ ।
नेकपा प्रदेश नम्बर ३ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भोलि आयोजना हुने पार्टी स्थापना दिवसमा पार्टी एकता औपचारिक रुपमा टुंगोमा पुगेको घोषणा हुने प्रष्ट पार्नुभएको हो । नेकपा केन्द्रीय सचिवालयले स्थापना दिवसमा भोलि दिउसो १२ बजे प्रज्ञा भवनमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गर्दै भोलि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा हुने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने जानकारी पनि दिनुभयो । ‘एउटा प्रिन्सिपलमा आधारित भएर हुन्छ, मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
अध्यक्ष प्रचण्डका अनुसार सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार मात्रै गरिनेछ ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भन्नुभयो, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिनोस ।’