नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेकपाको जिल्ला कमिटी एकता घोषणा आज गर्ने भएको छ । शीर्ष नेताहरूबीच सहमति जुटेपछि बसेको सचिवालय बैठकले आज जिल्ला कमिटी घोषणा गर्ने निर्णय गरेको हो ।
लामो रस्साकस्सीपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिँदै भन्नुभयो, “बैठकले नेकपाका ७७ वटै जिल्लाको नेतृत्वको टुङ्गो लगाएको छ, अहिले अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ, बाँकी पार्टीको स्थापना दिवसका अवसरमा टुङ्गो लाग्नेछ ।”
जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे । जनप्रतिनिधि अथवा राजकीय पदमा रहेका व्यक्तिलाई यसअघि जिल्लाको कार्यकारी पदको जिम्मेवारी नदिने भनी सचिवालयले नै बनाएको मापदण्ड भने उल्टिएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार जनवर्गीय सङ्गठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामावली भने टुङ्गिन बाँकी छ । केही दिनभित्र त्यो पनि पूरा निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्।
बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका नेता माधवकुमार नेपाल र पार्टीका महासचिव विष्णु पौडेलले पार्टीको एकता प्रक्रियालाई टुङ्याउने विषयमा गहन छलफल गर्नुभएको थियो ।