पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटरस्थित ललिता निवासको जग्गा प्रकरणमा आफ्नो संलग्नता भेटिए जस्तोसुकै दण्ड स्वीकार्न तयार भएको बताएका छन् ।
सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको बेला भएका निर्णयका विषयमा पनि प्रश्न चिन्ह उठेको भन्दै नियतवस काम गरेको भए सजाय भोग्न तयार भएको बताएका हुन् ।
उनले एउटा व्यक्ति मात्र सादगी वा राम्रो भएर नहुने भन्दै उनले राज्यका संयन्त्रहरु नसच्चिएसम्म केही नहुने भन्दै आफ्नो बचाउ गरे ।सन्त नेता भनेर चिनिने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई, तत्कालीन एमालेभित्रका सादगी नेताका रुपमा रहेका माधवकुमार नेपाल र तत्कालीन माओवादीभित्र सबैले माया गरेको बाबुराम भट्टराई (आफै) नेतृत्वको क्याबिनेटका निर्णयका विषयमा पछिल्लो समय आएका समाचाले आफूलाई दुःखी तुल्याएको भट्टराईले बताए ।
उनले भ्रष्टाचार निवारणका लागि राज्यका सबै संयन्त्रलाई सफा राख्नु पर्ने बताए । भट्टराईले वाइडवडी जहाज खरिद प्रकरण, तारागाउँ होटल्स प्रालि प्रकरण, ललिता निवास प्रकरण लगायतमा सरकारले सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताए ।