फोरम-नयाँ शक्तिबीच एकता , सोमवार घोषणा गरिने

फोरम-नयाँ शक्तिबीच एकता , सोमवार घोषणा गरिने
राजनीति

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको दल संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्ने लिखित सहमति गरेका छन्।

सहमतिमा दुबै अध्यक्ष नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम नेपालका यादवले हस्ताक्षर गरेका छन्।

फोरम नेपालका वरिष्ठ नेता अशोक राईका अनुसार पार्टी एकता सोमवार घोषणा गरिने र नाम समाजवादी पार्टी नेपाल रहनेछ।

उनले दिएको जानकारी अनुसार महाधिवेशनपछिको ठूलो निकाय संघीय परिषद् र कार्यकारी निकाय केन्द्रीय समिति हुनेछ।

कार्यकारी अधिकार

परिषद्को नेतृत्व बाबुराम भट्टराईले गर्ने छन् भने केन्द्रीय समितिको अध्यक्ष यादव हुनेछन्।

नेता राईका अनुसार परिषद्ले नीतिगत काम धेरै गर्नेछ भने केन्द्रीय समितिले दैनिक काम र निर्णय गर्नेछ।

दुईजना अध्यक्ष रहने विधिमा पार्टी एकता गरिए पनि कार्यकारी निकायको नेतृत्वमा यादव रहने देखिन्छ।

तर भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार केन्द्रीय समितिको निर्णय आवश्यक देखेमा उल्टाउन सक्ने अधिकार भट्टराई अध्यक्ष रहने परिषद्‍मा हुनेछ।

नेता राईले भने, “विधिले कार्यकारी अधिकारीबारे जेसुकै भने पनि हामीले सामूहिक नेतृत्वको प्रणालीबाट जाने सहमति गरेका छौं।”

पाण्डेका अनुसार बरिष्ठताक्रममा भट्टराईपछि यादव हुनेछन्।

Post Comment