विप्लव समूहसँग प्रहरीको दोहोरो भिडन्त, एक घाइते

विप्लव समूहसँग प्रहरीको दोहोरो भिडन्त, एक घाइते
राजनीति

विप्लव नेतृत्वको माओवादीका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।

स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । उनको साथमा हतियारसमेत फेला परेको प्रहरीको भनाइ छ ।

मंगलबार दिउसो करिब सवा १ बजेतिर टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित धोद्रे जङ्गलमा विप्लवका हतियारधारी लडाकु समूहसँग प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने भिडन्तस्थलमा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले दावी गरेका छन् । दर्जनौंको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको पनि उनको भनाइ छ ।

केहिदिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लवका कार्यकर्ता रहेको प्रहरीले सूचना पाएको जनाएको छ । सोही सूचनाको आधारमा प्रहरी, सशस्त्र प्रहरी लगायत टोलीले चारैतिरबाट घेरा हालिरहेको बताइन्छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले बताएका छन् ।

Post Comment