भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ । १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो ।
बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना अनुसार अहिलेसम्म मोदीको दलले ३४४ स्थानमा विजय हात पारेको छ । एप्रिल ११ देखि मे १९ सम्म लोकसभाको कुल ५४२ स्थानका लागि सात चरणमा चुनाव भएको थियो ।
मोदीको दल भाजपाले ३४४, कांग्रेस आईले ८८ र अन्य गठबन्धनले ११० स्थानमा अग्रता हात पारेका छन् । सन् २०१४ को चुनावमा मोदीको दल भाजपाले २८२ सिट जितेको थियो ।
भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । यो मत परिणामले भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री हुने निश्चित भएको छ ।
पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ ।
लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । भारतीय निर्वाचन आयोगले मतदानको सम्पूर्ण परिणाम आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।