विप्लव समूहसँग वार्ताको वातावरण बन्दैछ: प्रचण्ड

विप्लव समूहसँग वार्ताको वातावरण बन्दैछ: प्रचण्ड
राजनीति

 नेकपाका एकजना अध्यक्ष प्रचण्डले ‘हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा’ वार्तामा आउने अवस्था सृजना भएको आफूलाई लागेको बताएका छन्।

राजधानी काठमाण्डूमा चार जनाको ज्यान जाने गरि पछिल्लो पटक आइतबार भएको हिंसात्मक घटनापछि प्रचण्डको त्यस्तो भनाइ आएको हो।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका दिन सोमबार विराटनगर आएका नेता प्रचण्डले भने “मैले बुझेसम्म बन्द इत्यादी उहाँहरूले जे गर्नु भएको छ। सायद वार्ताको वातावरण बनाउनकै लागि हो कि भन्ने मैले बुझेको छु।”

आफ्नै नेतृत्वमा १० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वका एक सहयात्री नेत्रविक्रम चन्दप्रति लक्षित गर्दे प्रचण्डलले “बम आतंक फैलाएर राजनितिक उद्देश्य पुरा नहुने” पनि बताए।

उनले भने , “मलाइ लाग्छ सायद यो अन्तिम अन्तिम पनि हुन सक्छ, उहाँहरू अन्तत: वार्तामा आउनुको विकल्प पनि छैन, शान्तिपूर्ण राजनितिमा आउनुको पनि विकल्प छैन ।”

प्रतिबन्ध
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनताको चाहना र भावना बम पड्काउने नभएको बताए।

सरकारी पक्षबाट वार्ताका लागि भित्रभित्रै तयारी भैरहेको हुनसक्ने संकेतका रूपमा लिइएको टिप्पणीका क्रममा प्रचण्डले भने, “त्यसबारे पहल भैरहेको होला नि, पहिले सिके राउतसंग वार्ताका लागि पहल भएको सबैलाई थाहा भएको थियो र, परिणाम आएपछि मात्र थाहा भयो। सम्भवत यसको पनि परिणाम निष्किए पछि नै थाहा हुन्छ।”

तर प्रचण्डले उक्त समूह वार्तामा आउन चाहे उसमाथि सरकारले लगाएको प्रतिबन्ध हट्न सक्ने संकेत पनि गरेका छन्।

उनले भने, “वार्तामा आउने भनेपछि प्रतिबन्ध ठूलो समस्या होइन।”

काठमाण्डू लगायत मूलुकका विभिन्न ठाउँमा बम विष्फोट लगायत हिंसात्मक गतिविधि बढाएको भन्दै सरकारले करिब तीन महिना अघि ‘विप्लव समूह’का गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

उक्त समूहका केही नेता तथा कार्यकर्तालाइ प्रहरीले पक्राउ समेत गरीरहेको छ।

प्रतिबन्ध यता पहिलो पटक ज्यान जाने गरि हिजो राजधानीमा विष्फोटहरु भएका हुन्।

केही दिन पहिले भोजपुरमा सुरक्षाकर्मीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एक जना कार्यकर्ताको ज्यान समेत गएको थियो।

Post Comment