पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् । नेकपा प्रदेश १ का सदस्य चौधरी तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका हुन् ।
नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । ‘सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँसँग सम्पर्क स्थापित गर्न काठमाडौं, प्रदेश र सुनसरीका साथीहरूलाई पार्टीले खटाएको छ ।’
इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले पनि केही दिनयता प्रमुखसँग सम्पर्क नभएको बताइन् । ‘उहाँ एउटा कार्यक्रममा भाग लिन नेपालगन्ज जानुभएको छ तर सम्पर्क हुन सकेको छैन,’ उनले भनिन्, ‘शुक्रबार आउने भन्नुभएको थियो, आएपछि घटनाबारे छलफल गर्छौं ।’ चौधरीको मोबाइल स्विच अफ छ ।
चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको भन्दै धम्क्याएका थिए ।