फेरि राजतन्त्र चाहियो भन्नेहरु मूर्ख हुन् : प्रधानमन्त्री ओली

फेरि राजतन्त्र चाहियो भन्नेहरु मूर्ख हुन् : प्रधानमन्त्री ओली
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजतन्त्र चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् ।

शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले २४० वर्ष शासनले मुलुक अन्धकारमा धकेलेको भन्दै अझ यसैमा काेही काेही राजतन्त्र चाहियो भनेर उफ्रिरहेको टिप्पणी गरे ।

उनको संकेत कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति थियो । थापाको पार्टी पछिल्लो समय राजतन्त्र पुनर्स्थापना र हिन्दु धर्मको माग गर्दै आन्दोलनमा छ ।

‘२ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिब बनाउने राजतन्त्र फेरि चाहियो भनेर केहीले मूर्खतापूर्ण अभिव्यक्ति दिइरहेका छन्’, ओलीले भने । प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि चेतावनी दिए।

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए ।

‘क्रान्तिका नाममा हिंसा भड्काउने छुट कसैलाई पनि छैन, हिंसाजन्य गतिविधिलाई सरकारले नियन्त्रण गर्छ’, ओलीले भने। सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको उनले दावी गरे ।

उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

Post Comment