हिजो १७ हजार मार्ने गुरिल्लाहरु आज बम पड्काउँदै छन् : कमल थापा

हिजो १७ हजार मार्ने गुरिल्लाहरु आज बम पड्काउँदै छन् : कमल थापा
राजनीति

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले राजतन्त्रको अन्त्यपछि मुलुक झन विकराल अवस्थामा प्रवेश गरेको बताएका छन ।

स्वाभिमान यात्राको क्रममा पर्वतको सदरमुकाम कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजतन्त्र समाप्त भएको १३ वर्षमा देशले केहि गतिलो चीज पाउन नसकेको बताए ।

केपी ओली नेतृत्वको सरकारले सुशासन कायम गर्न नसकेको र विप्लवलाई कमजोर सम्झेको भन्दै उनले तत्काल वार्ताबाट समस्या समधान गर्न आग्रह गरे ।

अध्यक्ष थापाले जनयुद्धको नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएको बताए ।

उनले परिवर्तनको नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह समेत गरे ।

‘हिजो सय गुरिल्लाबाट शुरु भएको विद्रोहले १७ हजार मान्छे मरे, १० वर्ष गृहयुद्ध चल्यो अहिले फेरी विप्लवले कान्तिको नाउँमा बम पड्काउँदैछ यसले कति मार्ने हो,’ उनले भने ।

राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउनुपर्ने उनले बताए ।

Post Comment