रेशम चौधरीलाई साङ्लाेले बाँध्नेलाई कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन

रेशम चौधरीलाई साङ्लाेले बाँध्नेलाई कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन
राजनीति

टीकापुर हत्याकाण्डको अभियोमा जेल सजाय भाेगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा समेत १४ नेल (साङ्लो) लगाएकाे भन्दै चाैतर्फी आलाेचना भयाे । अन्तत: प्रधानमन्त्री केपी शर्मा आेलीले उनलाई लगाइएकाे साङ्लाे हटाउन निर्देशन दिएपछि साे साङ्लाे हटाइएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि चाैधरीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर उनकाे खुट्टामा साङ्लाेले बाँधेर राखिएकाे देखेपछि विभिन्न दलका नेता तथा अधिकारकर्मीले समेत सरकारकाे आलाेचना गरे । चाैतर्फी विराेध र दबाव बढेपछि शुक्रबार बेलुकी नै सांसद चौधरीको खुट्टामा लगाईएको नेल हटाइएको हाे ।

अस्पतालको बेडमा रहँदा पनि नेल लगाएर राखिएको थाहा पाएलगत्तै प्रधानमन्त्री ओलीले साे नेल हटाएर दाेषीलाई कारबाही गर्न निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाएकाे घटनाबारे अध्ययन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन् ।

कैलालीबाट निर्वाचित सांसद चौधरी काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन् । उनका परिवार स्रोतका अनुुसार सांसद रेशम केही समय अगाडिदेखि अस्पतालमा नियमित जाँचका लागि गइरहेका थिए । बिहीबार श्वास फेर्न र हिँड्नसमेत गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियाे ।

Post Comment