मदन भण्डारी र वीरेन्द्रका परिवारको हत्यारा पत्ता लगाउन किन सक्दैनौं ?

मदन भण्डारी र वीरेन्द्रका परिवारको हत्यारा पत्ता लगाउन किन सक्दैनौं ?
राजनीति

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएर पनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसक्नु बिडम्बना भएको टिप्पणी गरेका छन् ।

मदन भण्डारी स्मृति दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्डका अपराधी पत्ता लगाउन नसक्नु गम्भीर भएको बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला नारायणहिटीमा उभिएर वीरेन्द्रको वंशनाश गराउनेहरु पत्ता लगाउने प्रतिबद्धता जनाए पनि नसकिएको उनले बताए । ‘सरकारमा हामी आफैं छौं तर, मदन भण्डारी र वीरेन्द्रका परिवारको हत्यामा संलग्न मानिस पत्ता लगाउन किन सक्दैनौं’, उनले भने, ‘जनताले नदिएको त पक्कै होइन ।’ उनले हत्याकाण्डको दोषी पत्ता लगाउनुको साटो नलगाउँदै ठीक हुन्छ भन्नेजस्तो गर्न थालिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाए ।

उनले दरबार हत्याकाण्ड र दासढुंगा हत्याकाण्डका दोषी पत्ता लगाउन नसक्दा भविष्यमा फेरि त्यस्तै घटना हुन सक्ने औंल्याए ।

फेरि त्यस्ता घटना नहोलान भन्न सकिने आधार नभएको उनको भनाइ थियो । प्रचण्डले मदन भण्डारीले विदेशीले भेट्न खोज्दा फुर्सद छैन भनेको र राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न आऊ भनेका कारण भण्डारी हत्या भएको बताए । उनले अहिले छाला जोगाउन दासढुंगा हत्या काण्डको छानबिन छाला जोगाउनका लागि नगरिएको आरोप उनले लगाए । ‘हामी आफ्नो छाला जोगाउन त यसो गरिरहेका छैनौं ?’, उनले प्रश्न गरे ।

Post Comment