प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले शान्ति र लोकतन्त्रको कुरा गर्ने सरकारले आफ्ना पार्टीका कार्यकर्तामाथि दमन गरेको भन्दै निन्दा गरेको छ ।
‘एकातिर शान्ति र लोकतान्त्रका कुरा गर्ने तर अर्कातिर शान्ति र राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्नेजस्ता सरकारको दमनकार्य निन्दनीय छ’, पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रममा जनताको घरमा बास बसिरहेको नेता कार्यकर्तामाथि प्रहरी दमन भएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि सो क्रममा कुनै मानवीय क्षति भने भएको छैन।
सरकारले दमनको सिलसिला नरोके पार्टीले शक्तिशाली प्रतिरोध गर्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ । यसबाट उत्पन्न परिस्थितिको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डसहित गृहमन्त्री रामबहादुर थापा बादल जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि सुरक्षा निकायले विप्लवका कार्यकर्ताले फायर खोलेपछि दोहोरो भिडन्त भएको बताएको भएपनि विप्लवको विज्ञप्तिमा भने दमन गरिएको दाबी गरिएको छ ।