भारतीयको पत्रपछि विषादी जाँच रोकिनु त्रुटिपूर्ण : बामदेव गौतम

भारतीयको पत्रपछि विषादी जाँच रोकिनु त्रुटिपूर्ण : बामदेव गौतम
राजनीति

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्रै ल्याउने निर्णय रोक्न भारतीय दूतावासले चुनौतिपूर्ण र गैरकूटनीतिक भाषा प्रयोग गर्दै नेपाल सरकारलाई पत्राचार गरेको भन्दै नेकपाका प्रभावशाली नेता वामदेव गौतमले आपत्ति जनाएका छन्।

अखिल नेपाल किसान महासंघका संयोजक समेत रहेका गौतमले मंगलबार विज्ञप्तिमार्फत् भारतीय दुतावासको पत्रले नेपाली किसानको उत्पादनमाथि हस्तक्षेप गरेको पनि उल्लेख गरेका छन्। महासंघको मंगलबारै बसेको स्थायी समिति बैठकपछि उक्त विज्ञप्ति जारी गरिएको थियो।

विषादी परीक्षण गरेरमात्र तरकारी तथा फलफूल आयत गर्ने निर्णय नेपाली किसान तथा आम उपभोक्ताको पक्षमा भए पनि सरकार त्यसबाट पछि हटेर गल्ती गरेको उनले उल्लेख गरेका छन्।

‘भारतीय दूतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटिपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ।

गौतमले भारतीय कृषि उत्पादनमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पु¥याउने रासायनिक विषादी प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताले कुनै ‘फाइटोसिनेटरी क्लियरेन्स’का कागजपत्र पेश नहुने उल्लेख गरेका छन्।

‘तर नेपालबाट भारततर्फ निर्यात हुने तरकारी तथा फलफूलहरुमा विषादी परीक्षण गर्नुपर्ने प्रावधानहरु कायमै छ,’ विज्ञप्तिमा भनिएको छ। सरकारको पछिल्लो निर्णयले आम नेपालीमा नेपाल सरकार भारतसँग आत्मसमर्पण गरेको भ्रम फैलन पुगेको उनले बताएका छन्।

गौतमले यस विषयलाई लिएर प्रतिपक्षी नेपाली काँग्रेस लगायतका शक्ति सरकारविरुद्ध सडकमा उत्रनु भारतीय दूतावासको पत्राचारको विरुद्ध वा सरकारी निर्णयविरुद्ध के हो प्रष्ट पार्न चुनौति पनि दिएका छन्।

Post Comment